Skin_Hospital_Dhn

धनगढीको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’मा सहयोग गर्ने बढ्दै

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको नियमित पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार्न भन्दै स्थापना गरिएको ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ।

आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन उपमहानगरपालिकाले ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको हो। कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले स्वस्फूर्तरूपमा आर्थिक सहयोग गर्दै आएको र सहयोगी सङ्ख्या बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिएको धनगढी नगरप्रमुख गोपाल हमालले बताएका छन्।

नगरप्रमुख हमालले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न हरसम्भव प्रयास गरिने बताएका हुन्। उनले उपमहानगरपालिकाले मात्र शिक्षामा लगानी लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगर प्रमुख शैक्षिक सुधार कोष’ मा सहयोग गर्न आग्रह गरेका छन्।

कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाई छ। शुक्रबार मात्र ग्लोबल आइएमई बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ। नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि बैंकले पाँच लाख रुपैयाँको चेक नगरप्रमुख हमालाई हस्तान्तरण गरेको हो।

ग्लोबल आईएमई बैंक धनगढी शाखाले ९५ जना बालिका लागि ५ लाखको चेक उपलब्ध गराएको हो। त्यस्तै सिद्धार्थ बैंक धनगढी शाखाले पनि नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको छ। बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा बुधवार २ लाख १० हजार रुपैयाँको चेक नगरप्रमुख हमाललाई हस्तान्तरण गरेको छ।

यसैगरी गरिमा विकास बैंक धनगढी शाखाले छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको छ। बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा बुधवार नै ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघसंस्थाहरूबाट ४५ लाख ६३ हजार २५० रुपैयाँ सहयोग प्राप्त भएको उपमहानगरले बताएको छ।

सम्बन्धित
Loading...