बैतडीः बैतडीमा ‘अषाढी जात’ सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा लाग्ने ‘अषाढी जात’ सम्पन्न भएको हो ।
स्थानीयका अनुसार असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौँ दिनमा जात्रा सुरू हुने र नवमीमा जात्रा सम्पन्न हुने जानकारी दिए । असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने, नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडी गाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहेको छ ।
जात्रा दर्शनका लागि नेपालका मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन् । हरेक वर्षझै यसपटक पनि भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट दर्शनार्थी यहाँ पुगेका थिए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलीसहितको जात्रा हुने गरेको छ । असोजको नवरात्र र चैते दसैँमा पनि मन्दिरमा पूजाआजासहित जात्रा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयले रणशैनी भगवतीको रूपमा समेत पुर्काने गरेका छन् ।