
धनगढी: नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री बनेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट चार जना मन्त्री बनेका हुन्।

सुदूरपश्चिमबाट कांग्रेसका ३ र एमालेका १ जना मन्त्रिपरिषद्मा समेटिएका छन्। कांग्रेसले समानुपातिक सांसद डा. आरजु राणा देउवासँगै कञ्चनपुरका रमेश लेखक र बाजुराका बद्री पाण्डे तथा एमलेले बैतडीका दामोदर भण्डारीलाई मन्त्री बनाएको छ।

कांग्रेसले देउवापत्नी डा. राणालाई परराष्ट्र, कञ्चनपुर–३ बाट विजयी लेखकलाई गृह र बाजुराबाट विजयी पाण्डेलाई पर्यटनमन्त्री तथा एमालेले बैतडीबाट विजयी भण्डारीलाई उद्योगमन्त्री बनाएको छ।
कांग्रेसका राणा र पाण्डेका लागि मन्त्रिपरिषद् नयाँ अनुभव हो। लेखकले यसअघि मन्त्रालय सम्हालिसकेका छन्। यस्तै एमालेका भण्डारी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए।
