कैलालीमा भन्सार छली गरि ल्याएका बोईलर कुखुरा र माछासहित एक जना पक्राउ
धनगढीः कैलालीमा भन्सार छली गरि ल्याएका बोईलर कुखुरा र माछासहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिकाको उर्मी गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ४८ हजार मूल्य बराबरको बोईलर कुखुरा र माछासहित सोही ठाउँ बस्ने ३२ वर्षीय कालुराम कामी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त बोईलर कुखुरा र माछासहित कालुरामलाई सोमवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी सोमवार नै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७७ हजार २३७ मूल्य बराबरको सामान बरामद गरिएको छ । उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, चना, बिडी, सुर्ती, सुटपिस, साडी, धोती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।