पहिरोमा परेर सासु बुहारीको मृत्यु , छोरी गम्भीर घाइते
संखुवासभा: सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोले पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ।
आज बिहान करिव ६ बजे सिलिचोङ–१ सिसुवाखोलामा माथिबाट पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समिक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका–१ का वडाध्यक्ष अनिश कुलुङ राईले जानकारी दिए।
पहिरोसँगै खसेको ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया उनकी बुहारी समिक्षाको घटना स्लथलमै मृत्यु भएको वडाध्यक्ष राईले बताए। लगातारको वर्षासँगै माथिबाट पहिरोसँगै आएको ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन्।
गम्भीर घाइते रविनाको देब्रे खुट्टा चुट्टिएको छ। उनको शरिरका विभिन्न भागमा समेत चोट लागेको छ। घरमा रहेको ६ जना मध्ये तीन जना सकुशल रहेको छन्। उनीहरू साउने सक्र्राती मनाउन गोठमा भेला भएका थिए।
गम्भीर घाइते रविनाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताए। घटना स्थल सदरमुकाम खाँदबारी देखि दुई दिनको पैदल दुरीमा पर्दछ। घटनाको बारेमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।