एजेन्सी ।
साउदी प्रो लिगमा अल नासरले जित निकालेको छ ।
पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले उच्च प्रदर्शनसहित दुई असिस्ट प्रदान गरेपछि साउदी प्रो लिगमा जित निकालेको हो ।
अल नासरले घरेलु मैदानमा अल तावोनलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा रहन सफल भएको छ । अल नासरका अब्दुल रहमान घारिव र अब्दुल्लाह मादुले गोल गर्दा अल तावोनका अल्भारो मेडरनले गोल फर्काएका थिए ।
एमआरसोल पार्क रियादमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको १७औं मिनेटमा अब्दुल रहमान घारिवले रोनाल्डोको पासमा गोल गोल गर्दै अल नासरलाई १–० को अग्रता दिलाए ।
४७औं मिनेटमा अल्भारो मेडरनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मोहम्मेद अल घाम्दीको पासलाई सदुपयोग गरेका थिए । ७८औं मिनेटमा अब्दुल्लाह मादुले रोनाल्डोकै पासमा गोल गर्दै अल नासरको जित पक्का गरे ।
अघिल्लो खेलमा ह्याट्रिकसहित चार गोल गरेका रोनाल्डोले यस खेलमा गोल गर्न नसकेपनि सानदार प्रदर्शन गर्दै दुई असिस्ट प्रदान गरे । यसै विन्टरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदीमा आएका ३८ वर्षीय रोनाल्डोले साउदीको प्रो लिगमा ४ खेलमा ५ गोल र २ असिस्ट प्रदान गर्दै आफ्नो पुरानो फर्ममा फर्कने संकेत गरेको छ ।
यस जितसँगै अल नासर १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४० अंक नै रहेपनि अल इतिहाद र अल सवाव गोल अन्तरमा पछि छ ।
