Skin_Hospital_Dhn

डीआईजी केसीले गरे इप्रका कमलबजारको नवनिर्मित भवन उद्घाटन

धनगढी: इलाका प्रहरी कार्यालय कमलबजार अछामको नवनिर्मित भवन उद्घाटन गरिएको छ।

कमलबजार नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय कमलबजारको नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको उद्घाटन गरिएको हो। सोमबार एक भव्य कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले भवनको उद्घाटन गरे।

समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी केसीले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरूको मनोवल उच्च हुनुका साथै सुविधा सम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरूले नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले आम नागरिकहरूलाई प्रदान गरिने सेवा समेत समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने धारणा राखे। उनले कार्यरत प्रहरी कर्मचारीहरूलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध अनुसन्धान तथा नियन्त्रणमा स्थानीय तह एवं नागरिक समाजसँग हातेमालो गरी कार्य गर्न निर्देशन दिए।

उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारबाट विनियोजित ५ करोड ११ लाख ११ हजार ३ सय ६९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो।

समुद्‍घाटन कार्यक्रममा कमल बजार नगरपालिका नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख श्री शारदा कुमारी बिष्ट, पञ्चदेवल विनायक नगरपालिका नगरप्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावल, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बरबहादुर विसी, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...