
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन्।
ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएका हुन्। आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ।


७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताए।
ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरका थिए।
उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए। उनले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिइसकेका छन् । प्रधानमन्त्रीमा ओलीको चौथो कार्यकाल हो।
