Skin_Hospital_Dhn

फ्रान्सेली अखबारले लेख्यो– नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन !

काठमाडौँ: नेपालको राजनीतिबारे फ्रान्सेली अखबार ‘ली मोन्ड’ले  ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भएको टिप्पणी गरेको छ। हरेक दिन अपराह्न छापिने फ्रान्सको चर्चित दैनिक ‘ले मोन्डे’ले मंगलबारको अंकमा लेखेको छ, ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’

कुनै हिंसा या द्वन्द्वको अवस्था नभए पनि यो पत्रिकाले नेपालमा महिना-महिनामा भइरहने सरकार फेरबदललाई कटाक्ष गरेको छ ।

‘सानो हिमाली गणराज्यले हालै मात्रै मात्र १५ वर्षमा आफ्नो १४ औँ प्रधानमन्त्री नियुक्त गरेको छ’, ‘ले मोन्डे’का लागि ब्रुनो फिलिपले लेखेको यो समाचारमा ब्याख्यासहित भनिएको छ, ‘देशमा बेरोजागरी बढिरहेको छ। बेरोजगारीका कारण विदेशिने युवाहरूको संख्या बढिरहेका बेला नेपालको सार्वजनिक मामिला (राजनीतिक) केबल लेनदेन संस्कृति र नियमित परम्परा जस्तो भएको छ ।’

यो पत्रिकाले अझै अघि बढेर राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगितामा नेपालले शीर्ष स्थान कायम गरिरहेको पनि जनाएको छ ।

‘राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगिताभित्र नेपालले निरन्तर तालिकामा शीर्ष स्थान कायमै गरेको छ’, पत्रिका लेख्छ, ‘नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली (७२) ले सन् २००८ यताका १४ औँ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।’

पत्रिकाले २०४६ (१९९०) को राजनीतिक फेरबदलबाट बहुदल आएसँगै नेपालले ३० वटा प्रधानमन्त्री फेरिसकेको पनि उल्लेख गरेको छ । ‘नेपालमा १९९० मा संसदीय प्रजातन्त्र आएपछि मात्रै ३० जना प्रधानमन्त्री फेरिइसकेका छन्’, पत्रिका लेख्छ, ‘नेपालमा हरेक वर्ष नयाँ प्रधानमन्त्री आउँछन्, यो यहाँका लागि सामान्य कुरा भएको छ। करिब ३ करोड जनसंख्या भएको सानो हिमाली गणतन्त्रका लागि यही कुरा अहिलेसम्मको उल्लेखनीय उपलब्धि बन्न पुगेको छ ।’

उक्त फ्रन्च पत्रिकाले नेपालको हालैको इतिहासमा नेपालमा जति कुरा फेरिइरहन्छ्, त्यति नै उस्ताको उस्तै रहिरहने पनि उल्लेख गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेताका रुपमा ओलीलाई चित्रित गर्दै पत्रिकाले उनी वास्तवमा वैचारिक रूपमा युरोपेली शैलीको समाजवादी प्रजातन्त्रनिकट रहेको उल्लेख गरेको छ । ओलीले सन् २०१५ यता चौथो पटक सरकारको नेतृत्व गर्न लागेको पनि पत्रिकाले लेखेको छ ।

पत्रिकाले नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गुरिल्ला नेता भनेको छ। ओलीले पूर्व माओवादी गुरिल्ला नेता पुष्पकमल दाहालको स्थान लिएको पत्रिकामा लेखिएको छ । प्रचण्ड सन् २००९ मा प्रधानमन्त्री पदमा तेस्रो पटक रहेको पनि अगाडि उल्लेख गरिएको छ ।

उक्त पत्रिकाले नेपाली राजनीतिमा गठबन्धन, प्रति-गठबन्धन र विश्वासघातको क्रम अचम्मको रहेको जनाएको छ । दलहरूले एउटा गठबन्धन छाडेर अर्कोमा जोडिने र एकले अर्कालाई विश्वासघात गर्ने क्रम पनि धेरै रहेको समाचारमा भनिएको छ ।

उदाहरणका लागि पत्रिकाले कम्युनिष्टहरूले कहिलेकाहीँ राजतन्त्रवादी पार्टीसँग पनि गठबन्धन गरेका लेखेको छ । पछिल्लो पटक लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई पार्टीहरू कांग्रेस र एमाले मिलेको पनि समाचारमा भनिएको छ।

पत्रिकाले पूर्वप्रधानमन्त्री दाहाल र उनको पार्टी नेकपा माओवादीलाई लामो समयदेखि साथ दिएको आएका देशको प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले अहिले हात मिलाएको पनि जनाएको छ। उनीहरू वर्षौंदेखि एकआपसमा कट्टर विरोधी भए पनि अन्तिममा गठबन्धन गर्न पुगेको तर्क पत्रिकाले गरेकोछ

सम्बन्धित
Loading...