
काठमाडौं ।
आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले पनि फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीप प्रज्वलन पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा पनि सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
