Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आह्वान

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै विशेष अधिवेशन आह्वान गरिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुख नजिर मियाँले ८ साउनमा विशेष अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए।

संविधानको उक्त धारामा प्रदेश सभाका एक चौथाइ सांसदले अधिवेशन बोलाउन माग गरेको खण्डमा प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ। सचिव बोगटीका अनुसार प्रदेश प्रमुख मियाँले ८ साउनमा विशेष अधिवेशन आह्वान गरेका छन्। २९ असारमा प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मात्र प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए।

प्रदेश सभाको अधिवेशन अन्त्य भएपछि मुख्यमन्त्री दीर्घबहादुर नेतृत्वको सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुलेको थियो। शुक्रबार नै अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहे पनि आर्थिक मामिला मन्त्रालय सचिव धनगढी बाहिर भएका कारण अहिलेसम्म कुनै सुरसार छैन। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण बनेपछि २० असारमा सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिएको थियो।

जसका कारण अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले १ असारमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रदेश सभाबाट पारित गर्न सकेनन्। बजेट पारित हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गएको छ। कांग्रेस र एमालेले स्पष्ट अल्पमतमा परिसकेका कारण मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन्।

सम्बन्धित
Loading...