Skin_Hospital_Dhn

शेखर कोइराला भन्छन्- कांग्रेस–एमालेलाई अब गल्ती गर्ने छुट छैन

काठमाडाैं:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दल कांग्रेस–एमालेलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

अब जनताले सुशासनको अनुभूति हुनेगरी सरकारले काम गर्नुपर्ने काेइरालाले बताए। अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनिहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे। उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ।’

कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए। ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफूमै लड्छौँ। बिपीले त यस्तो कहिल्यै सिकाउनुभएन। हिजोको त्यो आत्मियता कहाँ गयो?,’ कोइरालाले प्रश्न गरे।

सम्बन्धित
Loading...