Skin_Hospital_Dhn

धनगढीमा चर्च निर्माण : क्रिश्चियन धर्मका नाममा बालबालिका र अभावमा परेका प्रयोग !

धनगढी: कैलालीमा चर्च निर्माणको घटनाले समाज र नागरिक समुदायलाई मूर्ख बनाउनुका साथै कानुनको समेत उल्घंल गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।

सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। गजबको कुरा के छ भने चर्चका लागि यति आलिसान भवन बनिसक्दासम्म न स्थानीयले चाल पाए न त सरोकारवाला निकायले नै असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ।

त्यहाँ एउटा भव्य प्रवचन हल, एउटा भजन समूह कोठा, भव्य भोजन गृह, एउटा आमा हल, एउटा बाल हल, एउटा सङ्गति हल, माथिल्लो तल्लामा ठूलो हल र कोरियन नागरिक बस्ने आलिसान कोठासँगै डी फ्रिजरमा गाईको मासुसमेत राखिएको पाइएको छ ।

अर्को आश्चर्यको कुरा बाइबल वचन कण्ठका पर्चा जसमा धेरै जसो नकारात्मक र विद्रोही अभिव्यक्ति लेखिएका छन्। त्यस्तै परामर्श गरिएको व्यक्तिको लिस्ट जसमा ९ देखि १४ वर्षका बालबालिका र महिला छन्, जुन पछि परेका र दलित समुदायबाट रहेका छन्। जसले एउटा कुरा के प्रष्ट हुन्छ भने क्रिश्चियन धर्मका नाममा अभावमा रहेका व्यक्तिलाई लक्षित गरिएको छ। जुन नेपालको कानुनले मान्यता दिएको छैन।

नेपालमा धर्म परिवर्तनसम्बन्धी कानुनले धर्म परिवर्तनलाई नियन्त्रण गर्न र निषेध गर्न विभिन्न प्रावधानहरू समावेश गरेको छ। नेपालको संविधान, २०७२ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ, जसले व्यक्तिलाई आफ्नो धर्म मान्ने, आचरण गर्ने, अभ्यास गर्ने, र प्रचार गर्ने स्वतन्त्रता दिन्छ। तथापि, यस धारामा धार्मिक स्वतन्त्रताको हकलाई केही सर्तहरूमा सीमित गरिएको छ।

नेपालमा धर्म परिवर्तनसम्बन्धी प्रमुख कानुनी प्रावधान :

नेपालको संविधान, २०७२ को धारा २६ (३) बमोजिम कुनै व्यक्तिलाई धर्म परिवर्तन गराउन वा धर्म परिवर्तनको प्रयास गर्न निषेध गर्दछ। यसले बलपूर्वक, प्रलोभन, वा कुनै किसिमको दबाब प्रयोग गरी धर्म परिवर्तनको प्रयासलाई अवैध ठहरेको छ। नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ धारा १५८ अनुसार धर्म परिवर्तन गर्न वा अरूलाई धर्म परिवर्तन गराउन प्रलोभन, दबाब, वा कुनै किसिमको प्रभाव प्रयोग गर्नेलाई कानुनी कारबाही गर्न सकिने व्यवस्था गरेको छ। यस अनुसार, यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्मको कैद सजाय र पचास हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ। त्यस्तै विदेशी सङ्घसंस्थाहरूले नेपालमा धार्मिक गतिविधिहरू सञ्चालन गर्दा नेपालको कानुनको पालना गर्नुपर्छ।

विदेशी सङ्घसंस्थाहरूले कुनै पनि किसिमले धर्म परिवर्तन गराउने प्रयास गरेमा कानुनी कारबाही गरिन्छ।धर्म परिवर्तनसम्बन्धी कानुनले नेपालमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालको कानुनले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र धार्मिक सहिष्णुताको सन्तुलन कायम गर्न प्रयास गरेको छ।

मनेहराको उक्त चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन्। चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ। कारको अगाडिको सिसामा अस्पतालको सङ्केत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको स्थानीयले बताएका छन्।

लेट मेइन धनगढी प्रालि नामक इसाई एनजिओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने सर्तमा १५ वर्षका लागि ४ कठ्ठा जग्गा लिजमा लिएको थियो। १५ वर्षपछि भवन भण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिइएको हो। तर, लेट मेइनले करोडौँ लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिने गरी चर्चलाई भवन प्रयोग गर्न दिएको पास्टर प्रशान्त राईले बताए।

मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन्। तर, इजाजत प्राप्त गरेको प्रमाण देखाउनभन्दा अर्को दिन देखाउने भन्दै पास्टर राई पन्छिएका छन्।

सम्बन्धित
Loading...