Skin_Hospital_Dhn

सुदूरपश्चिमका पूर्व फुटबल प्रशिक्षक खड्काको निधन

धनगढी: सुदूरपश्चिमका पूर्व फुटबल प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका खड्काको ५९ वर्षकै उमेरमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको मंगलबार बिहान शौचालयमा गएका बेला मस्तिष्कघात भएको थियो।

शौचालयमा लडेका खड्काको टाउकोमा रगत जमेको देखिएको पारिवारिक स्रोतले जनाएको छ। मस्तिष्कघातपछि उनलाई मायामेट्रो अस्पतालमा लगिएको र अस्पतालमै निधन भएको जनाइएको छ।

खड्का पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन्। राष्ट्रिय खेलाडीका साथै उनी फुटबलका कैलाली जिल्ला प्रशिक्षक, सुदूरपश्चिम क्षेत्रीय प्रशिक्षकसमेत भएका थिए। उनकै प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय फूटबल टोली, २०६८ सालमा धनगढीमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पियन भएको थियो।

सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा, एक छोरी र श्रीमती छन्। खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ।

उत्तरबेहडीस्थित घरबाट बिहान ८ बजे शवयात्रा निकालिने मृतक खड्काका ज्वाइँ रोमजङ्ग स्वारले बताए। उनीप्रति अहिले विभिन्न संघ, संगठन तथा खेलाडीले श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित
Loading...