Skin_Hospital_Dhn

धनगढीको नोभा अस्पतालमा १७ वर्षीय किशोरको मृत्यु, डाक्टरको लापरबाही !

धनगढी: कैलालीको धनगढीस्थित नोभा अस्पतालमा एक किशोरको मृत्यु भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिव चौधरीको मृत्यु भएको हो। डाक्टरको चरम लापरबाहीका कारण चौधरीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन्। डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।

साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो। सामान्य स्वास्थ्य समस्या भएर अस्पताल भर्ना भएका उनको आज (शुक्रवार) बेलुका मृत्यु भएको उनका मामा रामकृष्ण चौधरीले जानकारी दिए।

‘हामीले अन्यत्र लैजान्छौँ भन्दा पनि डाक्टरले समयमै रिफर लेखिदिनुभएन। अन्तिम समयमा आएर मुटुको हामीसँग डाक्टर पनि छैन। मेसिन पनि छैन। ४ बजेतिर नेपालगन्ज लैजाउनुहोस् भन्नुभयो। आईसीयूको पैसा नतिर्दासम्म निकाल्न दिनुभएन,’ मृतक चौधरीका मामा रामकृष्णले नयाँ सन्देशसँग भने, ‘डाक्टर लापरबाही गरेको छ। डाक्टरलाई कारबाही हुनुपर्छ। हामीले भान्जालाई यहाँ मार्न ल्याएका होइनौँ, उपचार गराउन ल्याको हो। समयमै रिफर गरिदिएको भए हामी अन्त लगेर उहाँको ज्यान जोगाउँथ्यौँ।’

उनले डाक्टरले औषधिको ओभर डोज दिँदा नसिपको मृत्यु भएको आरोप लगाए। उता अस्पताल प्रशासनले भने डाक्टरको लापरबाही नरहेको दाबी गरेको छ।

अहिले अस्पताल परिसरमा प्रहरी खटाइएको छ। बिरामीको मृत्युपछि आफन्तहरूले तनावको स्थिति सिर्जना गरेपछि प्रहरी खटाइएको हो।

सम्बन्धित
Loading...