Skin_Hospital_Dhn

नसिव मृत्यु प्रकरण : साढे १३ लाख पाउने भएपछि आफन्तहरू शव बुझ्न तयार

धनगढी: कैलालीको धनगढीस्थित नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक किशोरका परिवार शव बुझ्न तयार भएका छन्।

उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिव चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन्।

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ।

मृतकका मामा रामकृष्ण चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए। चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो। सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि अन्तिम समयमा शुक्रबार अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान आग्रह गरेको थियो।

दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो। त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै प्रदर्शन गर्नुका साथै शव बुझ्न मानेका मानेका थिएनन्। तर अस्पतालले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरिरहेको थियो।

उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए। आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्दा २० लाख बराबरको भएको अस्पताल प्रशासनले दाबी गरेको छ। डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको जनाइएको छ।

सम्बन्धित
Loading...