
अछाम ।
मङ्गलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । अछाम जिल्लाको मङ्गलसेन नगरपालिकाकाले ४९ वटै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पु¥याउन आज (सोमबार) आवश्यक उपकरण प्रदान गरेको हो ।
नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिसकेको र यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब इन्टरनेट सेवा जडान हुने मङ्गलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले बताए ।

आज एक कार्यक्रमका बिच ब्रोडब्याण्ड इन्टरनेट जडानबारे अभिमुखीकरण सहित उपकरण प्रदान गरिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख सङ्गीता रावल सोडारीले इन्टरनेट उपकरण हस्तान्तरण गरेकी थिइन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा शिवनिवास आधारभूत विद्यालयका शिक्षक नर बहादुर रावललाई उपकरण हस्तान्तरण गर्दै नगर उपप्रमुख सोडारीले सामग्रीको उचित र प्रभावकारी उपयोग गरी फाइदा लिन आग्रह गरिन् ।
नेपाल सरकार, टेलिकम र मङ्गलसेन नगरपालिकाको सहयोगमा साङ्ग्रिला ईन्फरमेटिभ्स मार्फत उपकरण प्रदान गरिएको हो ।
इन्टरनेट मार्फत नेपाल टेलिकमको फोरजी सेवा पाइने बताइएको छ । विद्युत् पहुँच नभएको विद्यालयमा नगरपालिकाले तत्काल सोलर जडान गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोडारीले बताए । प्रमुख प्रशासकीय अधिकृत सोडारीले शिक्षण सिकाई क्रियाकलापहरूलाई प्रविधि सँग जोडेर सिकाई उपलब्धि बढाउन आग्रह समेत गरे ।
विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई इन्टरनेट डिभाइस हस्तान्तरण सँगै विद्यालयमा सञ्चालन र जडान गर्ने विधिबारे नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी र सेवाप्रदायक कम्पनी साङ्ग्रिला ईन्फरमेटिभका प्राविधिक जगत बिसीले जानकारी गराएका थिए । इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिने र त्यसपछि रिचार्ज गर्नुपर्ने जनाइएको छ । २ वर्षसम्म सेवाप्रदायक कम्पनीले नै सेवा शुल्कको जिम्मेवारी लिने सम्झौता गरिएको छ ।
३८ वटै आधारभूत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले गरेका थिए ।
इन्टरनेटको माध्यमबाट विद्यालयका प्रशासनिक, सूचना तथा शिक्षण सिकाई क्रियाकलाप व्यवस्थित हुने प्रधानाध्यापकहरूले बताएका छन् ।
