
काठमाडौं ।
भारतले नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिनमध्ये २० थान हस्तान्तरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा हिजो (सोमबार) आयोजित एक समारोहमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई २ सयमध्ये २० थान उपकरण हस्तान्तरण गगरे । बाँकी १ सय ८० थान मेसिन छिट्टै नेपाल भित्रिने दूतावासले जनाएको छ ।


धेरै मानिसले समयमै डायलासिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलासिस मेसिनले धेरै हदसम्म समस्या समाधान हुने भन्दै मन्त्री गिरीले भने– ‘हामीले आवश्यक ठाउँमा यी मेसिन पु¥याउन सकेमा डायलासिसका लागि समय पर्खिनुपर्ने समस्या हट्ने छ ।’
उनले नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्दै भने– ‘भारतले छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुसीको कुरा हो । भारतबाट स्वास्थ्य क्षेत्रमा जुन सहयोग आएको छ, त्यो हाम्रो लागि अमूल्य छ ।’
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले अहिले उपलब्ध गराइएको मेसिन नेपाल सरकारले एक वर्षअघि माग गरेको बताए । यो मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले भने– ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने दूतावासको विश्वास छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारत मैत्री ट्रमा अस्पताल, बीपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’
उनले सन् २००३ देखि भारत सरकारले साना परियोजनामार्फत नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको बताए ।
