विश्वकप फुटबल अन्तर्गत पोर्चुगलले लगातार दोस्रो जित हासिल गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
गएराती सम्पन्न समुह एचको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नानडेजले गरेका हुन् । ब्रुनोले पहिलो गोल खेलको ५४औं मिनेटमा गरेका थिए भने दोस्रो गोल खेलको ९३औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।
यो जितपछि पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र नकआउट चरणमा पुगेको छ ।
पोर्चुगल अन्तिम खेल नाखेल्दै नकआउट चरणमा पुग्ने तेस्रो टिम बनेको छ । पहिलो र दोश्रो फ्रान्स, ब्राजिल नकआउट चरणमा टिम थिए ।
त्यस्तै उरुग्वेको भने यो हारपछि नकआउट चरणको यात्रा कठिन हुने देखिएको छ । अब उरुग्वेले आफ्नो अन्तिम खेल घानाविरुद्ध खेल्ने छ, जुन खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह एचमा घानाको २ खेलमा ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको १-१ अंक रहेको छ ।
त्यस्तै पोर्चुगलले अब अन्तिम खेल मंसिर १६ गते दक्षिण कोरियाविरुद्ध खेल्ने छ ।