Skin_Hospital_Dhn

यही फागुन ११ बाट कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने, सबै तयारी पूरा

धनगढी ।
सरकारले यो वर्ष कैलालीसहित ६ प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि यही फागुन ११ बाट खुवाइने भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले हिजो (मङ्गलवार) पत्रकारसँग अन्तरक्रिया गर्दै यही फागुन ११ गते देखि २५ गतेसम्म औषधि खुवाउने अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार अभियान सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ ।कैलालीमा यो वर्ष ९औँ चरण अन्तर्गत हात्तीपाइलेको औषधि खुवाउन लागिएको हो । यसअघि धेरैले औषधि नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मीनबहादुर धामीले बताए । कतिपयले औषधि लिएर घरमा जाने तर नखाने गरेको पाइएकाले यस पटक स्वास्थ्यकर्मीकै अगाडि औषधि खुवाउन लागिएको उनले बताए ।

कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए । जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ।

 

हात्तीपाइले रोग के हो र कसरी सर्दछ ?

हात्तीपाइले रोग शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ।

रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरूलाई समेत रोग सर्ने सम्भावना धेरै हुने भएकाले रोगबाट बच्न औषधि खानु एक मात्र विकल्प रहन्छ ।

सम्बन्धित
Loading...