कैलालीमा आजदेखि हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु
धनगढी ।
कैलाली जिल्लामा आजदेखि हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लामा फागुन ११ गतेदेखि २५ गतेसम्म १३ वटै स्थानीय तहहरुमा हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुन लागेको हो ।
जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका आठ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
यो पटक कैलालीमा एघारौं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालयका फोकल प्रशन तथा हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले अनुरोध गरे । खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले जानकारी दिए ।
दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले बताए ।
कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्नेमा लक्ष्य रहेको हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने धामीले बताएका छन् । यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरु परजीवी मुक्त नभएको भन्दै सम्पुर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए ।
यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ ।