
काठमाडौं ।
आज (बिहीबार) भएको केपी ओली कपको उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो दिन सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे । पुलिसका प्रविन थापाले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । तर, ४९औँ मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए ।
७१औँ मिनेटमा दीपकले नै गरेको गोल निर्णायक बन्दा सातदोबाटोले अन्तिम चारमा स्थान पक्का गर्यो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
