Skin_Hospital_Dhn

राष्ट्रपति चुनाव : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

काठमाण्डौ ।
आज (शुक्रवार) मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन परेको छ । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन्  । यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

सम्बन्धित
Loading...