
काठमाडौं ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन तीन दलले आज (शुक्रबार) नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रस्ताव गर्ने भएका छन् । हिजो (बिहिबार) साँझ बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपाल बिच सहमति भएपछि भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग आज छलफल गर्ने भएका हुन् ।


माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरूले बताएका छन ।
‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।
नेकपा एसको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । नेकपा एस मात्रै यस्तो पार्टी हो, जसले भावी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेको छ । जसअनुसार नेकपा एसले आफ्नो पार्टी माधव नेपालको नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपाबीच छलफल गरेको थियो ।
