Skin_Hospital_Dhn

नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न

काभ्रेपलान्चोक ।
नेपाल पुलिस स्कुल साँगाको ३९औँ स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा आज (शुक्रवार) आयोजित एक कार्यक्रमबिच नेपाल पुलिस स्कुल साँगाको ३९औँ स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको हो ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औँ अङ्कको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिन् । साथै उनले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिन् ।

कार्यक्रममा सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह—शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा सञ्चालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताइन् ।

प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्‍याउन विद्यालयले ठुलो भूमिका खेल्ने उल्लेख गर्दै उहाँले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउँदै जाने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, अभिभावकहरूसमेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...