गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं ।
प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठक स्थगित भएको छ । गणपूरक संख्या नपुगेर गत ४ मंसिरमा सम्पन्न आम चुनावपछिको बाह्रौं प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित आएको अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
कार्यसूची अनुसार प्रतिनिधिसभामा प्रधनमन्त्री प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरिन् । त्यसमाथि सांसदहरुले छलफलमा भाग लिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले दिइन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न खोजे । लगत्तै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या यकिन गर्न माग गरे ।
३ मिनेट घण्टी बजाएर यकिन गर्दा प्रतिनिधिसभामा जम्मा ५० जना मात्रै सांसद उपस्थित रहेको पत्ता लाग्यो । विधेयकलाई निर्णयार्थ प्रस्तुत हुन २७५ को एक चौथाई सांसद (६९ सांसद) आवश्यक पर्छ ।
यस सम्बन्धी व्यवस्था संविधानको धारा ९४ मा छ जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’
प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकार र सत्तापक्ष नै उदासिन भएपछि यो रोग अलि अलि यता (प्रतिपक्ष)तिर पनि सरेको छ । किनभने संक्रमण भयो । अब प्रतिपक्ष पन स्वतः उदासिन हुने भयो ।’ उनको प्रश्न छ, ‘सरकारकै उत्साह मरेपछि प्रतिपक्षले के गरी उत्साह जगाउने सभामुख महोदय ? ’
एक चौथाई सांसद उपस्थित नरहेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरे । अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
सत्तापक्षमा प्रशस्त पार्टीहरु रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो संख्या (सत्तापक्षका सांसदहरु) गन्दा निकै छ । त, हाउसमा गणपूरक संख्या पुग्दैन ।’ सरकार र सत्तापक्ष नै उदासिन भएपछि संसदमा उपस्थित नहुने प्रवृति प्रतिपक्षमा पनि देखा परेको उनले स्वीकार गरे ।
प्रमुख सचेतक लेखकले भने, ‘सरकार र सत्तापक्ष नै उदासिन भएपछि यो रोग अलि अलि यता (प्रतिपक्ष)तिर पनि सरेको छ । किनभने संक्रमण भयो । अब प्रतिपक्ष पन स्वतः उदासिन हुने भयो ।’ उनको प्रश्न छ, ‘सरकारकै उत्साह मरेपछि प्रतिपक्षले के गरी उत्साह जगाउने सभामुख महोदय ?’ यस्तो प्रबृतिले सरकार, सत्तापक्ष र प्रतिपक्ष कसैलाई पनि ठीक ठाउँमा नपुर्याउने लेखक बताउँछन् ।
संघीय संसद सचिवालयका अनुसार शुक्रबारको बैठकमा १६० जनाले हाजिर गरेका छन् । त्यसमध्ये जम्मा ५० जना मात्रै उपस्थित भएका कारण विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।