
काठमाडौं ।
एनआईसी एसिया बैंकले हालै “एनआईसी एसिया फोनलोन” सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवामार्फत मोबाइल बैंकिङ एपबाटै डिजिटल रुपमा बैंकले कर्जा प्रदान गर्ने भएको हो ।
यसअन्तर्गत बैंकका ग्राहकले मोबाइलमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम दुई लाख रुपैयाँसम्मको पूर्वस्वीकृत कर्जा लिनसक्ने बैंकले जनाएको छ ।


बैंकका अनुसार ग्राहकले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकले कर्जा सेवा लिनसक्ने छन् ।
उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गर्ने र कर्जा लिन योग्य ग्राहकको एनआईसी एसिया “मोबैंक” एपमा कर्जा आवेदन दिने विकल्प देखिने छ ।
कर्जा लिन योग्य ठहरिएमा ग्राहकले मोबाइल बैंकिङ एपमा लगइन गरी गरी त्यहाँ उल्लेखित “एनआईसी एसिया फोनलोन” आइकनमा ट्याप गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउनसक्ने बताइएको छ ।
