Skin_Hospital_Dhn

पार्टीबाट निकालिएपछि मुकुलको आक्रोश– रवि नैतिक रूपमा पतीत पात्र हुन्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यबाटै निष्कासित गरिएका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई नैतिक रुपमा पतितको संज्ञा दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूलाई रवि लामिछाने क्लबबाट मात्रै निष्कासित गरिएको तर्क गर्दै रास्वपाबाट निष्कासन गर्ने कुनै अधिकार नरहेको पनि जिकिर गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’, उनले भने, ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आमजनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका जिकिर गरे । ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी रविले राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन्’, उनले भनेका छन्, ‘सम्बन्धित निकायको ध्यान जाओस् । फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकताकै प्रश्न, अनुसन्धानमा रहेको विषयउपर भ्रम छर्न नलाग्नुस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

सम्बन्धित
Loading...