काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको पहल गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले सत्तापक्ष र प्रतिपक्ष दलबीच संविधान संशोधनको सवालमा समान धारणा आइरहेकाले सरकारले यसमा राष्ट्रिय सहमति जुटाउनका लागि तत्काल पहल गर्नुपर्ने बताए। मंगलवार प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमालेबीच संविधान संशोधन गर्नेलगायतका सात बुँदे सहमति भएको स्मरण गराउँदै त्यसमा सरकारले पार्टीहरूबीचमा र प्रतिपक्षसँग पनि राष्ट्रिय सहमतिका लागि बहस चलाउनुपर्ने उनले बताए।
उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने र त्यसका लागि शासकीय स्वरुपमा कुनकुन एजेण्डामा हामीले परिवर्तन गर्नुपर्ने हो, त्यसका लागि एकै पार्टीभित्र मात्रै होइन अन्य पार्टीभित्र पनि, पार्टीहरू बीचमा पनि र सरकार र प्रतिपक्षको बीचमा पनि राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यसका लागि सरकारले पहल गर्नुपर्ने सांसद साउदको भनाइ थियो। उनले समावेशीकरणको मुद्दालाई तलमाथि गर्ने पक्षमा सरकार र सत्तारुढ दल नरहेको पनि बताए।