Skin_Hospital_Dhn

बैतडीमा झडप : दुई जना घाइते, तीन पक्राउ

बैतडी: बैतडीमा गौरा पर्वको मेलामा दुई पक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार घर भई गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार–४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन् ।

स्थानीय लटैनाथ मन्दिरमा लागेको गौरा मेलामा बिहीवार बेलुका झडप हुँदा दुवैजना घाइते भएका दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिए।

गौरा पर्वका लागि घर आएका नेपाली सेनामा कार्यरत बिष्टको झडपमा परेर टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष भट्टले बताए। यस्तै सुरजको मुखमा चोट रहेको छ। दुवैजनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको थप उपचारका लागि धनगढी लैजाने तयारी भएको वडाध्यक्ष भट्टले जानकारी दिए।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका–५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। उनीहरूमाथि नक प्रहार गरेर घाइते बनाएको आरोप लागेको छ।

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा छन्। वादविवाद हुँदा दुईपक्षबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

सम्बन्धित
Loading...