Skin_Hospital_Dhn

भारतले शनिवार धौलीगंगा बाँध खोल्ने, सतर्कता अपनाउन आग्रह

बैतडी: भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गतेसम्म खोलिने जनाएको छ।

बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ। बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको हो। यसअघि भदौ १ र २ गते भारतीय पक्षले धौलीगंगा बाँध खोलको थियो।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ।

वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो। पछिल्लो समयमा धौलीगंगा बाँध खोल्नुपूर्व जानकारी दिने गरिएकाले क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ भने नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सहज भएको छ।

सम्बन्धित
Loading...