
काठमाडौं: विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा भएको दुई जना दाजु बहिनीको मृत्युबारे गृहमन्त्री रमेश लेखकले छोटो प्रतिक्रिया दिएका छन्। उनले बम सशस्त्र द्वन्द्वकालको भएको पुष्टि गरे।

गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरूसँगको अन्तर्क्रियामा यस्तो बताएका हुन्। ‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ। ग्रिनेड पड्कियो। अत्यन्त दुःखद घटना भयो। आज मात्रै प्रहरीसँग लामो कुराकानी गरेको थिए। उनले भने, ‘यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखिय ।’

उनले सशस्त्र द्वन्द्वको पीडा जीवित भएको भन्दै यो घटनाले दुखद भएको बताए। पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई बर्सिया छोरी प्रिन्साको ज्यान गएको थियो।
दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । त्यही क्रममा बम विस्फोट हुँदा घाइते पवनको उपचार जारी छ । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।
