धनगढीः समिट एयरले सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भोलिदेखि उडान नियमित गर्ने भएको छ। सो एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।
अब हप्ताको हरेक सोमबार र बिहीवार नेपालगञ्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ। नेपालगञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर बिहान करिब ९ बजे धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ। यो सोमबार उडाउन भर्ने कार्यतालिका हो।
अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगञ्ज बिहीबार उडान भर्ने गरी तालिका रहेको छ। सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको विमान मौसमलगायत कारण केही समय उडान कार्य अवरुद्ध बन्न पुगेको थियो। २०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो।
द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको विमानस्थलमा शान्ति स्थापना भएसँगै यात्रुहरूको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो। पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।
बिचमा विविध कारण उडान हुन नकेपनि भोलिदेखि समिटले नियमित उडान भर्ने धनगढी विमानस्थल कार्यालका प्रमुख गणेशबहादुर सिंहले बताए। यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।