दार्चुला: दार्चुलाको मार्मा र नौगाड गाउँपालिकामा फलेको स्याउ बजार पुगेको छ । अरु बर्ष असोजमा मात्रै स्याउ बजारमा आउने भएपनि जंगली जनावरको प्रकोप बढेपछि किसानहरुले समयम अघि नै टिपेर स्याउ बजारमा पुर्याएका हुन् ।
जंगली जनावरले उत्पादित स्याउ नोक्सान गर्न थालेपछि किसानहरुले स्याउ टिपेका कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले बताए ।
दार्चुलाको व्याँस, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउको राम्रो उत्पादन हुने गरेको छ । पछिल्लो समयमा यी पालिकाका किसानहरु स्याउ खेतीतर्फ आकर्षित भएका छन् ।
गत वर्ष १७० हेक्टर जमीनमा २ हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकोमा यस वर्ष १८८ हेक्टर जमिनमा स्याउ खेती गरिएको ठगुन्नाले बताए । यो बर्ष २ हजार ४७० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
मार्मा र नौगाडको स्याउ प्रतिकिलो २ सय ५० रुपैयाँका दरले बजारमा आएको कृषि अधिकृत ठगुन्नाले बताए । अन्य पालिकामा फलेको स्याउ केहीदिनभित्रै बजारमा आइसक्ने उनले बताए ।