
काठमाडौँ ।
सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानले युएई पठाउने प्रक्रिया सुरु गरेको छ।
सर्वोच्च अदालतले आज (सोमबार) सन्दीपलाई बिदेश जाने अनुमति दिएपछि क्यानले उनलाई बाँकी खेलका लागि युएई पठाउने प्रक्रिया सुरु गरेको हो।


खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुपर्ने सर्तसहित सर्वोच्चले उनलाई विदेश जाने अनुमति दिने फैसला गरेको छ । क्यानका छनोट समितिका संयोजक दिपेन्द्र चौधरीले १४ जनाको नामलिस्ट पहिले नै पठाएकाले अब आइसिसीसँग अनुमति लिएर मात्रै उनलाई युएई पठाउन सकिने बताएका छन् ।
चौधरीले भने, ‘हामीले बुधबारसम्म सन्दीपको बाटो हेरेका थियौं । तर अन्तिम समयमा हामीले नाम पठाउनै पर्ने थियो । सोही अनुसार १४ जना खेलाडीको नाम पठाएका छौं । अब सन्दीपका लागि आईसिसीको अनुमति अनिवार्य हो,’ उनले भने, ‘हामीले आइसिसीलाई इमेल पठाएका छौं । तर अनुमति दिए पनि समय भने लाग्ने छ ।’
उनको भिसा प्रोसेसिङ र टिकट लगायका कारणले पनि अगाडिका दुई खेल खेल्न पाउने सम्भावना कमजोर छ। चौधरीले भने, ‘हामी जतिसक्दो चाँडो प्रक्रिया पुरा गरेर उनलाई पठाउने प्रयास गर्ने छौं। अन्तिमका दुई खेल खेलाउन सक्छौं कि भन्ने लागेको छ।’
