Skin_Hospital_Dhn

धनगढीमा सूचना प्रविधि प्रदर्शन ‘मेला’ सुरु , सूचना प्रविधि सम्बन्धि बृहत जानकारी

धनगढी ।
कैलालीको धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ सुरु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको मूल प्रायोजन र कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ सुरु हुने भएको हो ।

धनगढीको सहिद गेट नजिक रहेको सौँराई स्क्वायरमा हुने मेलामा आज (मङ्गलवार) बिहान धनगढी चौराहाबाट र्यालि सुरु गरी १० बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिएका छन् । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ । उक्त प्रदर्शन ‘मेला’मा इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दूर सञ्चार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सुविधा सम्पन्न मोबाइल बसमा विभिन्न सेमिनारका बारेमा जानकारी गराइने छ ।

अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट विभिन्न कम्पनी, संस्थाहरूलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य क्यानले गरेको उनले बताए ।

इन्फोटेकममा आइटी सेमिनार आयोजना गरिनेछ भने प्रविधिको प्रदर्शन गर्ने संस्थालाई पुरस्कृत गरिनेछ र अनलाइन प्रदर्शन पनि गरिनेछ । प्रविधिको प्रयोगसँगै बालबालिकाहरू मोबाइल तथा कम्यूटरमा बढी समय बर्वाद गर्ने गरेको अवस्थामा उनीहरूलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने छ ।

पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोस्रो संस्करणको आयोजना गर्न लागेको हो । क्यान कैलालीले २०७२ मा पहिलो पटक क्यान इन्फोटेक आयोजना गरिएको प्रदर्शन ‘मेला’ दोस्रो इन्फोटेकको तयारी गरे पनि कोभिडका कारण सफल हुन सकेको थिएन ।

सम्बन्धित
Loading...