
डोटी ।
आज (मङ्गलवार) डोटीमा परेको असिनापानीले हिउँदे बालीमा ठुलो क्षति पुर्याएको छ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा आज (मङ्गलवार) परेको असिनापानीले बालीनालीमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका छन् । लामो समयदेखि खडेरीपछि एकाएक परेको असिनाले गहुँबाली, तरकारी खेती र फलफूल खेतीमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका हुन्।

लोकेन्द्र कठायतका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको उक्त क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको छ।
यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकासिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन् । यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठुलो प्रभाव परेको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ।
