![Skin_Hospital_Dhn](https://nayasandesh.com/wp-content/uploads/2024/06/Skin_Hospital-1.jpg)
डडेल्धुरा ।
डडेल्धुराका किसानले किवी फल बिक्री गरी वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किसानहरुले किवीखेती वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका हुन् ।
किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि बढाउन, क्यान्सर रोग निको पार्नलगायतमा उपभोगी मानिएको छ ।
अमरगढी नगरपालिका–१ दहका गणेशबहादुर ऐरले रु ३० लाखको लगानीमा १० रोपनीमा किवीखेती गर्दैआएका छन् । वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन् । पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको छ । तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको किसानहरु बताउछन् । भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन् ।
जिल्लामा एउटा मात्र शीतभण्डार छ । त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ । शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ । डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।
डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो रु पाँच सय रहेको छ । अहिले रु दुई सय ५० देखि रु तीन सयसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए ।
![](https://nayasandesh.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-03-at-6.39.02-AM.jpeg)