Skin_Hospital_Dhn

क्यान इन्फोटेकको आकर्षण बन्यो एसपीएको स्टल, के के छन् ?

धनगढी ।
धनगढीमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा एसपीए कलेजको स्टल आकर्षण बनेको छ । स्टलमा एसपीएका विद्यार्थीहरुले बनाएको उपकरण तथा प्रविधि नियाल्नेहरूको दैनिक भिडभाड देखिएको हो ।

एसपीए कलेजले आफ्ना विद्यार्थीहरुले बनाएका विभिन्न एक दर्जन उपकरण तथा प्रविधिहरू क्यान इन्फोटेकमा प्रदर्शनीमा राखेका छन् । जसमा सस्तो किताब डटकम, वान डोर लेखापढी सिस्टम, स्मार्ट डस्टबिन, ग्यास लिकेज डिटेक्टर, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, इलेक्ट्रिक बाइकलगायत छन् ।

सस्तो किताब डटकम मुख्य गरी पढ्न मिल्ने पुराना पुस्तकहरू किनबेच गर्न सकिने माध्यम हो । कम आए भएका र महँगा किताब किन्न नसक्ने विद्यार्थीहरू लागि यो महत्त्वपूर्ण भएको छ । जो कसैले पनि आफूसँग भएका पुराना पढ्न मिल्ने पुस्तकहरू वेबसाइटमा राख्न सक्छन् । त्यहाँबाट जसलाई चाहिएको हो उसले सस्तो मूल्यमा किताब पाएका छन् । यो सिस्टमको विकास एसपीएका विद्यार्थीहरू पवन अवस्थी, यज्ञराज कँडेललगायतले गरेका हुन् ।

यस्तै एसपीएका विद्यार्थीहरू अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले बनाएको भ्वाइस कन्ट्रोल अपलाइन्सेसमा पनि मानिसहरूको रुचि देखिएको छ । उक्त उपकरणको माध्यमबाट बोलीकै भरमा बत्ती, पङ्खा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

‘मुख्य गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरू माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्विचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरूको सहजताका लागि हामीले यो उपकरणको डिजाइन गरेका हौँ । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलेकट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्विच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरूबाट पनि जोगिन मद्दत पुग्नेछ ।

यस्तै एसपीएकै विद्यार्थी सोहन कैनीले बनाएको ‘सवारी एस ५’ इलेक्ट्रिक बाइक विथ फिंगरप्रिन्ट प्रदर्शनी राखिएको छ ।

सोहनले बनाएको सवारी एस ५ एक पटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएमा बाइक अझै धेरै कुद्न सक्ने उनी बताउँछन् । त्यसबाहेक इलेक्ट्रिक बाइक भएकाले यो वातावरणमैत्री पनि छ । औलाको सेन्सरले सजिलै अन गर्न सकिन्छ ।

‘मैले सबै पुनः प्रयोग हुने सामाग्रीहरूको प्रयोग गरेर यो बाइक बनाएको हुँ । माइलेजको पनि समस्या छैन । ब्याट्रीको पावर बढाउन चाहे अझै बढी कुद्छ,’ सोहनले भने ।

यसअघि उनको यो बाइक काठमाडौँसहित देशका अन्य भागमा पनि प्रदर्शनमा आइसकेको छ ।

एसपीएका विद्यार्थीहरू नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्रोजेक्टको विकास गरेका हुन् । सेन्सर उक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिसहरू नजिक जाँदा आफैँ खुल्ने र डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुने हुन्छ ।

‘डस्टबिनमा फोहोर चिज बस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नुपर्दा त्यसमा भएका कीटाणुहरू हातमा टाँसिने हुनसक्छ । त्यसबाट रोगब्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विद्यार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको प्रयोगबाट ढक्कन छुन पर्दैन । मानिसहरू फोहर फाल्न नजिक जाँदा आफै खुल्छ भने मानिसहरू डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुन्छ । आफैँ बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउँदैन ।’

यस्तै एसपीएमै बीआईएम छैटौँ सेमेस्टरमा अध्ययनरत अरुनिमा कोरिया तथा पहिलो सेमेस्टरमा अध्ययनरत दीपिका जोशी र पुजा साहले बनाएको प्रोजेक्ट ‘वान डोर लेखापढी सिस्टम’ पनि अवलोकन कर्ताले रुचाएका छन् ।

यस सिस्टमको माध्यमबाट मानिसहरूले आफ्नो तथ्य भरेकै आधारमा लेखापढीबाट गरिने सम्पूर्ण निवेदन, मुचुल्का, सिफारिस, तमसुक एक छिनमा तयार हुन्छन् । यसका माध्यमबाट नापी, मालपोत, नगरपालिका, लगायत सरकारी कार्यालयमा अब मुचुल्का, तमसुक, सिफारिस, निवेदन बनाउन पैसा तिर्नपर्दैन ।

यस्तै ग्यास लिकेज प्रविधिको विकास प्रकाश नेपालीलगायत विद्यार्थीहरुले गरेका हुन् । किचेनमा ग्यास लिकेज भएको अवस्थामा उक्त प्रविधिले जनाउ घण्टी बजाई दुर्घटनाबाट जोगाइदिन्छ ।

एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रवीन्द्र रानाको सहयोगमा विद्यार्थीहरूले यी सबै प्रविधि र सिस्टमहरूको विकास गरेका हुन् ।

कार्यक्रम निर्देशक पुनले एसपीएले विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान सँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए ।

‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सूचना र व्यवस्थापनलाई सँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विद्यार्थीहरू दत्तचित्त भएर लागेका छन् । उनीहरूलाई आइटी क्षेत्रबाट समाज र देश रूपान्तरणमा अघि बढाउने सङ्कल्पका साथ एसपीए अघि बढेको छ ।’

सम्बन्धित
Loading...