
काठमाडौं ।
राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलले आज (शुक्रबार) सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न लागेका हुन्।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेससहित ८ दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन्।
कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् । त्यसका लागि कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारीसहित खटाएको छ।
बागमती प्रदेश सभा सदस्यहरूसँग भने काठमाडौंमै छलफल हुनेछ। आज दिउँसो १ बजे नयाँ बानेश्वरको आनन्द इभेन्टमा अन्तर्क्रिया कार्यक्रम राखिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
राष्ट्रपति निर्वाचनमा रास्वपा र राप्रपाले कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक बसेका छैनन्। कसलाई मतदान गर्ने निर्णय गर्न बाँकी रहेको ती दलहरूले बताइरहेका छन्।
