Skin_Hospital_Dhn

गृह मन्त्रालयले बाढीपहिरो प्रभावित आठ जिल्लामा खटायो कार्यदल

काठमाडौं: गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज, उद्धार र राहत उपलब्ध गराउन तथा थप समन्वयका लागि गठित कार्यदलका संयोजकहरू बुधबारदेखि फिल्डमा खटिएका छन्।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबारदेखि खटिएको जानकारी दिए। बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ।

कार्यदललाई भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, बाढी–पहिरोबाट मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यबारे सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउने सम्बन्धित निकायसँग समन्वय र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहतबारे सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन्।

कार्यदललाई आगामी असोज २१ गतेसम्म प्रतिवेदन दिन भनिएको छ। कार्यदलले दैनिकरुपमा प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिबारे केन्द्रमा जानकारी समेत गराउने छ। त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए। ‘हामीले दशजना अधिकतलाई बाढी-पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ’, अधिकारीले भने, ‘उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र राहत वितरणमा सहजीकरण तथा फिल्डको अवस्थाबारे केन्द्रमा जानकारी गराउनु हुने छ।’

सम्बन्धित
Loading...