Skin_Hospital_Dhn

चौलानीमा एसपीएका विद्यार्थीले रोजगारी पाउने, जिम, स्वीमिङपुल र रेष्टुरेन्टमा ५० प्रतिशतसम्म छुट

धनगढी ।
एसपीए कलेजका विद्यार्थीहरूले धनगढीस्थित चौलानी ग्रुप अफ कम्पनीको क्लब चौलानीमा रोजगारी तथा पेड इन्टर्नसिपको अवसर पाउने भएका छन् । एसपीए कलेजले आफ्ना विद्यार्थीहरूलाई रोजगारदातासँग जोड्ने अभियान अन्तर्गत क्लब चौलानीसँग उक्त सम्झौता गरेको हो ।

सम्झौता पत्रमा चौलानी ग्रुपका अध्यक्ष मानसिंह साउँद र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार क्लब चौलानी अन्तर्गतका होटेल तथा रेस्टुरेन्टमा एसपीएका विद्यार्थीले रोजगारी तथा पेड इन्टर्नसिप पाउनुका साथै जिम, स्विमिङ पुल र रेस्टुरेन्टमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

एसपीएका प्रबन्ध निर्देशक शाहीले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन उक्त सम्झौता गरिएको बताए ।

‘विद्यार्थीहरूलाई रोजगारदातासँग जोड्दै कम्तीमा आफ्नो शैक्षिक शुल्क आफै तिर्न सक्ने र परिवारमा निर्भर हुन नपर्ने बनाउने हाम्रो रणनीति हो,’ शाहीले भने, ‘यसले विद्यार्थीहरूलाई पढ्दापढ्दै जीवन उपयोगी सीप हासिल गर्न र एक्सोजर दिन समेत मद्दत पुग्छ । सोही क्रममा क्लब चौलानीसँग जोडिन पाउँदा हामी आभारी छौँ ।’

क्लब चौलानीका अध्यक्ष मानसिंह साउँदले आर्थिक रूपमा मन्दी परिरहेका बेला कलेजसँगको सहकार्यमा विद्यार्थीहरूलाई सहुलियत दिन पाउँदा खुसी लागेको बताए ।

‘स्विमिङ, जिम फिटनेसहरू लाइफ स्कुलसँग पनि जोडिन्छन् । अहिले हर कसैका लागि यी सीप सिक्न आवश्यक भैसकेको छ,’ साउँदले भने, ‘आर्थिक मन्दी तथा महँगीका कारण सबै विद्यार्थीहरूले इच्छा हुँदाहुँदै पनि फिटनेसमा जान नपाइरहेको अवस्थामा यस सम्झौताले धेरैलाई राहत पुग्ने विश्वास लिएका छौँ ।’

सम्झौता अनुसार चौलानीमा क्लब चौलानीमा एसपीएका विद्यार्थीहरूले रोजगारी पाउनुका साथसाथै अध्यापक तथा कर्मचारीहरू र विद्यार्थीहरूले समेत विभिन्न छुटहरू समेत पाउनेछन् ।

चौलानीमा रहेको स्विमिङ पुल प्रयोग गर्दा एसपीएका अध्यापक तथा कर्मचारीहरू र विद्यार्थीहरूले ५० प्रतिशत छुट पाउनेछन् । यस्तै चौलानीले अध्यापक तथा कर्मचारीहरूलाई स्विमिङ पुलको सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिनेछ ।

त्यसबाहेक स्वास्थ्य नागरिक उत्पादन होस् भन्ने हेतुले एसपीएका विद्यार्थीहरू कम्तीमा १५ जनाको समूहमा आएमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त छुट बिहान ११ देखि दिउँसो ४ बजेसम्म उपयोग गर्न पाइनेछ । त्यसबाहेक अन्य समयमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यसबाहेक सम्झौतामा चौलानीले आफ्ना कन्फरेन्स हलहरू एसपीएलाई निःशुल्क प्रयोग गर्न दिने सम्झौता भएको छ । एसपीएका विद्यार्थीलाई चौलानीले खाना र पेयपदार्थ (रेस्टुरेन्टको मेनु)मा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसारका सेवा उपभोग गर्न विद्यार्थीले अनिवार्य कलेजको परिचय पत्र लिएर जानुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्बन्धित
Loading...