धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारको प्राथमिकतामा काम गर्न गैरसरकारी संस्थालाई निर्देशन दिएका छन् । आज सामाजिक विकास मन्त्रालयले विकास साझेदार संस्थाहरू सँग समन्वय बैठकमा बोल्दै मन्त्री शाहीले आफू अनुकूल कार्यक्रम सञ्चालन गर्नु भन्दा पनि प्रदेशको प्राथमिकतामा काम गर्नु पर्ने निर्देशन दिएका हुन् ।
सुदूरका अधिकांश जिल्लाहरूमा विभिन्न निकायले सञ्चालन गर्ने कार्यक्रमहरू आफूखुसी गर्ने, परियोजना सञ्चालन गर्दा दोहोरो पन भएको भन्दै अब यस्तो नगर्न समेत निर्देशन दिएका छन् । बैठकमा बोल्दै मन्त्री शाहीले सुदूरलाई समृद्ध बनाउन सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्य गरेर जानुपर्नेमा समेत जोड दिएका छन् ।
आज धनगढीको होटेल फलोरामा विकास साझेदार संस्थाहरू सँग समन्वय बैठक सञ्चालन भएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव गणेश बहादुर सिहं को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही प्रमुख अतिथि थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कार्यरत सम्पूर्ण विकासका साझेदार संस्थाहरूका प्रमुख हरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विकासका साझेदार सस्थाहरूका प्रमुखहरूले संस्थाले हाल सम्म गरिरहेका कामहरूको प्रगतिविबरण र आगामी दिनहरूमा गरिने कार्यक्रमहरूको अवस्था बारे जानकारी गराइएको थियो । धनगढी स्थित होटेल फलोरामा सञ्चालन भएको कार्यक्रममा ३० जनाको उपस्थिति रहेको थियो ।
