
आईसीसी विश्वकप लिग—२ अन्तर्गत आज (शुक्रबार) भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४८ ओभरमा सात विकेट गुमाएर न्युगिनीलाई तीन विकेटले पराजित गरेको हो।
नेपालका लागि आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै दुई चौका र एक छक्काको मद्दतमा ८६ रन प्रहार गरे । उनले १३० बलमा ८६ रन बनाएका हुन् । त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले ३५ र कुशल मल्लले २३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

पपुवा न्युगिनीका लागि अशद भालाले तीन, सेमो कमिया र सेसे बउले दुई—दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। पपुवा न्यूगिनीका लागि टोनी उराले ३९, हिरी हिरीले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, नर्मन बनुवाले १४, सेसे बउ र असद भलाले ११—११ रन बनाए।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई—दुई, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक—एक विकेट लिए ।
यूएईमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई हराएको थियो । दोस्रो खेलमा फागुन १८ गते यूएईसँग पराजित भएको थियो भने आज तेस्रो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको छ।
यो जितसँगै नेपालको ३० अंक भएको छ । तेस्रो स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिता खेल्न नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन अब बाँकी पाँच वटै खेल जित्नुपर्नेछ। जसमध्ये अर्को खेल सोमबार नेपालले यूएईसँग खेल्नेछ।
