Skin_Hospital_Dhn

आजदेखि धनगढीमा लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन सुरु

धनगढी ।
आज (शुक्रबार)देखि धनगढीमा लोक सेवा आयोगहरूको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘योग्यता, निष्पक्षता र स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने मूल नारासहित केन्द्रीय लोक सेवा आयोगको आयोजनामा राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्‌घाटन गर्दै प्रदेशमा गठन भएका लोक सेवा आयोगले सावधानी र स्तरीय काम कारबाहीमा ध्यान दिनुपर्ने आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनले प्रदेश र केन्द्रबिच समन्वयात्मक रुपमा काम हुनुपर्ने बताए । उनले अहिले प्रदेशले नै ११ औं तहसम्मका कर्मचारीको बढुवा सिफारिस गर्ने प्रवृतिले जोखिम निम्त्याउन सक्ने बताए ।

उनले भने,‘प्रदेशले आफूखुशी ११औं तहका कर्मचारी बढुवा सिफारिस गरिरहेको देखियो। यसले गर्दा प्रदेशमा बढुवा भएका संघको सचिवमा दाबी गर्न सकिने देखियो । प्रदेश लोक सेवा आयोगले बढी सावधानीपूर्वक काम गर्नुपर्ने देखिन्छ।’

उनले कुनै पनि पदमा विज्ञापन गर्दा सबै प्रदेशले एकै पटक गर्नुपर्ने सुझाव दिए। ‘अहिले एक प्रदेशले कुनै कल्स्टरमा विज्ञापन खोलेको छ भने अन्य प्रदेशका बासिन्दाले पनि आवेदन दिइरहेका छन्’, उनले भने ,‘अर्को प्रदेशबाट आवेदन दिएको मान्छे छनोट हुन्छ। प्रदेशमा हाजिर लगाउँछ पछि केही दिनमै आफ्नो प्रदेशमा सरुवा लिन्छ।’

उनले सो प्रवृत्तिले कुनै प्रदेशमा कर्मचारी पदपूर्ति हुने तथा कुनै प्रदेशमा खाली रहने जोखिम बढाएको उनको भनाइ छ।

उनले लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने संयन्त्र मात्र नबनाउन अनुरोध गरे। ‘केन्द्रले प्रदेश लोक सेवा आयोगसँग समन्वय गर्ने हो। प्रदेशलाई आवश्यक दक्ष विज्ञ, प्रश्नपत्र निर्माण, आवश्यक उत्तरपुस्तिका तयारी लगायतमा केन्द्रले समन्वय गर्न सक्छ। तर, स्रोत साधन, जनशक्ति व्यवस्थापनमा केन्द्र गुहार्ने काम नगर्नुहोस्’, उनले भने।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले संघीय संरचना अनुसार प्रदेश सरकार गठन भएको पाँच वर्ष पूरा भइसक्दा समेत प्रदेशका मन्त्रालयमा जनशक्ति व्यवस्थापन हुन नसकेको बताए । उनले प्रदेशमा अझै ३६ प्रतिशत जनशक्ति रित्त रहेको बताए।

उनले भने,‘जनशक्ति व्यवस्थापनका लागि दबाब दिँदा समेत सुनुवाइ भइरहेको छैन। ६४ प्रतिशत जनशक्तिको भरमा प्रदेशका मन्त्रालयहरूले सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ। हामी यो कुरा भन्दा भन्दा थाकिसक्यौं।’ उनले प्रदेश सरकारले प्रदेश लोक सेवा र पदपूर्तिलाई प्राथमिकतामा राखेर अघि बढेको बताए।

सम्मेलनमा आयोगका सदस्य, सातवटै प्रदेशका अध्यक्ष, सचिव लगायतको सहभागिता रहेको छ । सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरूबाट विभिन्न कार्यपत्र प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए।

सम्बन्धित
Loading...