
काठमाडौं ।
वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज महंगो भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चर्किन थालेका बेला बैंकहरुले कर्जाको ब्याज घटाउन थालेका हुन् ।

चर्को ब्याजदरको विरोधमा आन्दोलित हुनेहरु दिनप्रतिदिन बढ्न थालेपछि बैंकहरुले कर्जाको ब्याज घटाउन थालेका हुन् । केही समय अगाडि बैकर्स संघका अध्यक्ष सुनिल केसीले आन्दोलन विकल्प नभएको र ब्याजदर बिस्तारै घट्दै जाने अभिव्यक्ति दिएका थिए ।

हामीलाई प्राप्त जानकारी अनुसार सानिमा बैंक लिमिटेडले दुई प्रतिशत ब्याज घटाएको भन्दै ऋणीलाई खबर गरेका छन् । ‘बैंकको ऋणको ब्याजमा २ प्रतिशत कम गरिएको फोन आयो । अब ब्याजदर घट्दै जानेछ ।’– ऋणको ब्याज घटेको खबर आएको पुष्टी गर्दै दीपक गौतमले भने । यता सिटिजन्स बैंकले पनि केही प्रतिशत ब्याज घटाएको भन्दै ऋणीलाई खबर गरेका ऋणीले बताएका छन् ।
झन्डै आधा दर्जन वाणिज्य बैंकहरुले कर्जाको ब्याज घटाईसकेकोसमेत ऋणीलाई जानकारी गराएका छन् ।
