
धनगढी ।
सुदूरका मुख्यमन्त्री कमलबहादुर शाहले भोली (फागुन २१ गते) विश्वासको मत लिदै छन् ।
मुख्यमन्त्री शाहले हिजो (शुक्रबार) प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका हुन् ।


मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि भोलि (आइतबार) दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने,‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिनेगरी तयारी थालिएको छ ।’
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा(३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले कांग्रेसका प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा(एकीकृत समाजवादी) का नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।
