
धनगढी: चलचित्र ‘१२ गाउँ’ का निर्देशन तथा नायक विराज भट्ट र उनका छोरा नायक समीर भट्टले धनगढी आएर दर्शकलाई धन्यवाद दिएका छन्। धनगढीस्थित एसटीएस सिनेमा हलमा आएका दर्शकलाई उनीहरूले धन्यवाद दिएका हुन्।
उनीहरू हलमा आउँदा युवाहरूले हुटिङ गरेका थिए। फिल्म हेर्न विराजकी आमा भागरथी पनि आएकी थिइन्। हलको अन्तिमतिर बसेर १२ गाउँ हेरिरहेकी भगरथीलाई विराजले स्टेजमै बोलाएपछि धेरैले उनी विराजको आमा र समीरको हजुरआमा हुन् भनेर थाहा पाएका थिए।

अभिनेता विराज र समीर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए। त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन्।
दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज भएको एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन। ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैदिन रिलिज हुँदा पनि १२ गाउँले राम्रो सफलता पाइरहेको छ।

दोस्रो सातासम्म उपत्यकाका हलहरूमा रहेका विराज छोरा र भाइलाई लिएर बिहीबार धनगढी पुगेका हुन्। धनगढी विराजको जन्म थलो हो। यहाँ साथीहरूले विराजलाई भोजराज भनेर चिन्छन्।
भगरथीका पाँच सन्तान मध्ये विराज माइला हुन् । १२ गाउँमा विराजसँगै देखिएका कृष्ण भट्ट उनका कान्छा भाइ हुन् । एउटै चलचित्रमा छोरा र भाइलाई खेलाएका विराजले बिहीबार धनगढीमा दर्शकहरूको निकै राम्रो साथ पाए ।
२४ गतेदेखि अहिलेसम्म यहाँको एसटिएस सिनेमा घरमा दर्शकहरूको चाप कम भएको छैन । बिहीबारको टिकट त झन् दुई दिन पहिल्यै बुक भइसकेको थियो। बिहीबार आएका सयौँले टिकट पाएनन्।
१२ः४५ मा सिनेमा घर पुगेका विराजले केहीबेर पत्रकारहरूसँग कुराकानी गरेका थिए। त्यसक्रममा उनले अहिलेसम्म पनि निकै राम्रो दर्शकहरूको साथ पाइरहेको भन्दै अझै केही साता चलचित्र चल्ने बताए।
चलचित्र हेर्न आएका दर्शकहरूले विराज र समीर दुबैलाई चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । दुबै कलाकारको एक्सन, डाइलग र विषयवस्तु मन पराएको उनीहरूको भनाइ थियो।
