
काठमाडौं ।
गोल मसिन मानिएका किलिएन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् ।
क्लबका लागि एमबाप्पेले कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४—२ ले पराजित गरेको छ । यस जितसंगै पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । साथै उनले पीएसजीको जित पनि पक्का गरे ।
पीएसजीको जितमा लिओनल मेसी र डानिलोले पनि एक एक गोल गरे । नान्ट्सका हाडजमले एक आत्मघाट्टी गोल गरे ।

नान्ट्सका लागि लुडोभिच ग्लास र इग्नाटिउस गांगोले एक एक गोल गरे ।
एमबाप्पेले एडिनसन कभानीको नाममा रहेको २०० गोलको कीर्तिमान तोडेका हुन् ।
२४ वर्ष लागेका फरवार्ड एमबाप्पेले आफूलाई फुटबलको नयाँ सुपर स्टारको रुपमा स्थापित गरिरहेका छन् ।
दुई पटक विश्वकप फाइनल खेलिसकेका एमबाप्पेले २०१८ मा विश्वकप जितेका थिए भने २०२२ मा गोल्डेन बुट जितेका थिए ।
उनले फ्रान्सका लागि २०२१ मा नेसन्स लिगको उपाधि समेत जितेका छन् ।
सन् २०१७ मा मोनाको बाट पीएसजी पुगेका एमबाप्पेले चार लिग वान उपाधि जितिसकेका छन् भने पछिल्ला चार सिजनमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् । यस सिजन एमबाप्पेले ३० गोल गर्नुका साथै ८ असिस्ट समेत गरेका छन् ।
