
काठमाडौँ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ काठमाडौँमा आयोजना गर्ने भएको छ । “प्रविधियुक्त सेवा र सुसासन दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोचसहित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ (SACCOS CEOS NATIONAL WORKSHOP 2023) यही फागुन २४ र २५ गते काठमाडौँमा आयोजना गर्ने भएको हो ।
यस संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजरर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठीका लागि ४८ जिल्लाका ८३ महिला सहित ३९८ सहभागिको आवेदन गरिसकेका छन् ।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा यो गोष्ठी आयोजना गर्न लागिएको हो ।
उपलब्ध श्रोत र साधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास९ क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
उक्त गोष्ठीको उद्देश्यहरु यस्ता छन्ः
—वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु

—विश्वव्यापि नविनतम अभ्यास, अनुभव र सिकाइहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु,
—राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्न
—वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु
—कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्नु,
—वित्तीय सहकारीका विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु
—वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्नु,
—वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रूपमा स्थापित गर्न
—वित्तीय सहकारीको योजना विकास निर्माणको लागि साझा घोषणा जारी गर्नु रहेको छ ।
